नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेस्ट ‘सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ आयोजना गर्ने भएको छ। नेपाल सरकार, उद्योग, राष्ट्रिय वाणिज्य तथा आपुर्ती मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा ‘नबिल बैंक प्रिजेन्ट्स सीएनआईवाईइएफ स्टार्टअप फेष्ट २०२३’ आयोजना हुन लागिएको हो ।
आयोजकका अनुसार नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने, नविन सोंच भएका स्टार्टअपहरुलाई लगानी जुटाउन सहयोग गर्ने, मेक इन नेपाल स्वदेशी अभियानको प्रवर्द्धन एवं नीतिगत बहस गर्ने उद्देश्यले नेपाल स्टार्टअप फेष्ट आयोजना गर्न लागिएको हो ।
स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहदै आएकोले फेस्टमा नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन उनीहरुलाई लगानी जुटाएर प्रोत्साहन गरिने बताईएको छ । साथै नीतिगत सुधार एवं नीति निर्माणका लागि सरोकारवालाहरुवीच गहन छलफल हुने छ । स्टार्टअप प्रबर्द्धनमा विदेशमा भईरहेका सफल अभ्यास तथा उपलब्धीहरुका विषयमा पनि विभिन्न सत्रमा छलफल हुने आयोजकले जनाएको छ।