वाणिज्य बैंकले गरे पुसको लागि आधार दर सार्वजनिक

सञ्चालनमा रहेका २० मध्ये आठ वाणिज्य बैंकले पुसको लागि आधार दर सार्वजनिक गरेका छन्।
यसअनुसार अब पुसमा ऋणीहरूले कर्जामा अधिकतम ब्याजदर १३.४ प्रतिशत तिरे हुने भएको छ। मंसिरमा यी आठ बैंकबाट कर्जा लिनेले अधिकतम १४.०४ प्रतिशत तिर्नुपर्ने अवस्था थियो।
बैंकहरूले निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर पनि घट्दै गएको छ। गत महिना राष्ट्र बैंकबाट पाइने सापटी सुविधाको ब्याज घटेसँगै बैंकहरूले पनि निक्षेपको ब्याज घटाएका थिए। निक्षेपको ब्याजदर घट्दा बैंकहरूको पुँजी स्रोतको लागत समेत घट्छ। यसले बैंकहरूको आधार दर समेत घट्न सहयोग पुग्छ। 
मंसिरको तुलनामा बैंकहरूको आधार दर समेत घटेको छ। मंसिरमा यी बैंकहरूको आधार दर औसत ९.८८ प्रतिशत रहेकोमा पुसमा ९.६८ प्रतिशत छ। बैंकहरूले विगत तीन महिनाको मासिक आधार दरको आधारमा औसत आधार दर निकाल्छन्। यसरी निस्कने आधार दर नै कर्जामा लागू हुन्छ।

प्रतिक्रिया दिनुहोस