नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सलाई आग्रह गरेका छन् ।
नेपाल बैंकर्स संघको ३७औँ वार्षिक कार्यक्रममा शनिबार चितवनमा सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्ट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिए ।आफूले शनिबार चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने,‘उक्त फार्म ५० लाख रुपैयाँ ऋणमा १०७ वटा गाईभैँसी पालेर मासिक ६ लाख आम्दानी गर्नुभएको रहेछ । यो राम्रो काम हो ।’ ठगी खानेहरूले यत्तिको फार्म देखाएर करोडौँ ऋण लिने गरेको उनले बताए ।बैंकहरूलाई अर्काे बैंकको ऋणी तान्नुभन्दा पनि नयाँ व्यवसायी जन्माउन आग्रह गर्दै गर्भनर अधिकारीले भने, ‘वर्षमा यति व्यवसायी नयाँ जन्माएँ भन्ने गर्व गर्ने वातावरण बनाउनुहोस् ।’ बैंकहरूमा लगानीका निम्ति तरलताको अभाव नभएको भन्दै उनले विदेशी मुद्रा सञ्चिति पर्याप्त रहेको बताए ।