सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–५ जम्बुमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । चिलिमेकाे सहायक कम्पनी मध्यभोटेकोसी जलविद्युत् कम्पनीले निर्माण गरिरहेकाे आयोजनाको काम हालसम्म ९९.९ प्रतिशत सकिएकाे हो ।
प्राधिकरणले समयमै बाह्रबीसे सबस्टेसन हब निर्माण गरिदिए आयोजनाले अबको डेढ महिनाभित्रै विद्युत् प्रसारण गर्न सक्ने आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल शिवाकोटीले बताए । स्थानीयको अवरोधका कारण प्रसारण लाइन निर्माणमा ढिलाई भए पनि छिट्टै समस्या समाधान भई काम सम्पन्न गरिने उनले जानकारी दिए । ‘आयोजनाको सिभिल, हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलतर्फको निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेकाे छ’, उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइन निर्माणको ८० प्रतिशत काम सकिएकाे छ । सबै टावर निर्माण गरिसक्याैँ, अब ४ किलोमिटर मात्र तार तान्न बाँकी छ ।’
उनका अनुसार तार तान्न बाँकी रहेको २ किलोमिटर दूरीमा ‘राइट अफ वे’ का लागि स्थानीयबाट लिनुपर्ने जग्गाकाे मुआब्जामा विवाद रहेका कारण आयोजना निर्माणमा ढिलाई भइरहेकाे हाे । राइट अफ वेका लागि जग्गा लिँदा जग्गाकाे मूल्याङ्कनका आधारमा २० प्रतिशतसम्म रकम जग्गाधनीलाई दिनुपर्ने व्यवस्था छ । तर, तोकिएको मुआब्जा कम भएको भन्दै स्थानीयले प्रसारण लाइन निर्माणमा अवरोध गरेका हुन् । यो हप्ताभित्रै विवाद समाधान गरी आगामी १५ दिनभित्र तार तान्ने काम पनि पूरा गरिनेछ ।