नेपाली उद्योगमा वैदेशिक लगानी
१. विदेशी लगानी भनेको के हो ? विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न सक्ने तरिकाहरू जानकारी गराउँदै नेपालमा विदेशी लगानी खुला नगरिएका क्षेत्रसमेत उल्लेख गर्नुहोस ।
मुनाफा आर्जन गर्ने उद्देश्यले विदेशी लगानीकर्ताले कुनै मुलुकमा गर्ने लगानीलाई विदेशी लगानी भनिन्छ। यस्तो लगानी प्रत्यक्ष वैदेशिक लगानी तथा पोर्टफोलियो लगानीको रूपमा आउने गर्छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी व्यक्ति, फर्म, कम्पनी, गैरआवासीय नेपाली, विदेशी सरकार, अन्तर्राष्ट्रिय संस्था, सङ्गठित संस्थालगायतले नेपालमा पुँजी, प्रविधि तथा अन्य लगानी ल्याउन सक्छन्। यस ऐनले नेपालमा निम्न तरिकाबाट विदेशी लगानी हुन सक्ने व्यवस्था गरेको छ ः
क) विदेशी लगानीकर्ताले एक्लै वा संयुक्त रूपमा नेपालमा विदेशी लगानी गर्न सक्छन्। यस्तो लगानी नेपालमा स्थापित उद्योगमा लगानी गरेर वा नेपाली नागरिकसँग संयुक्त रूपमा उद्योग स्थापना गरी प्राप्त हुन सक्छ ।
ख) विदेशी लगानीकर्ताले नेपालमा स्थापित उद्योगको जायजेथा वा सेयर खरिद गरेर लगानी गर्न सक्छन्।
ग) लिज लगानीको रूपमा विदेशी लगानीकर्ताले हवाईजहाज, पानीजहाज, निर्माण उपकरणलगायतका उपकरणमा तोकिएको सीमाभित्र रही लगानी गर्न सक्छन्।
घ) विदेशी लगानीकर्ताले नेपालमा स्थापित उद्योगमा प्रविधि हस्तान्तरण गरेर लगानी गर्न सक्छन्।
ङ) विदेशमा संस्थापित उद्योगले नेपालमा शाखा उद्योग स्थापना वा विस्तार गरी लगानी गर्न सक्छन्।
च) संस्थागत विदेशी लगानीकर्ताले पुँजी लगानी कोष (भेन्चर क्यापिटल फन्ड) खडा
गरी उद्योग वा कम्पनीको स्वपुँजीमा लगानी गर्न सक्छन्।
छ) पुँजी लगानी कोष खडा गरेका विदेशी लगानीकर्ताले धितोपत्रको दोस्रो बजारमार्फत सूचीकृत धितोपत्रमा लगानी गर्न सक्छन्।
ज) नेपालमा संस्थापित कम्पनी वा सङ्गठित संस्थाले विदेशी पुँजी बजारमा धितोपत्र जारी गरी विदेशी लगानी भित्रिन सक्छ।
विदेशी लगानी निषेध गरिएका औद्योगिक तथा व्यावसायिक क्षेत्रहरू ः
कृषिजन्य उत्पादनका विभिन्न क्षेत्र जस्तै पशुपालन, माछापालन, दुग्ध उत्पादन, फलफूल, तरकारी आदि,
घरेलु तथा साना उद्यम,
व्यक्तिगत सेवा व्यवसाय जस्तैः सिलाइ, कटाइ, ड्राइभिङ पेसा व्यवसाय,
सुरक्षा तथा सामरिक महìवका सामग्री उत्पादन जस्तै जैविक, रासायनिक, आणविक, विकिरणजन्य हातहतियार,
पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथप्रदर्शक, होमस्टेलगायतका ग्रामीण पर्यटन उद्योग,
घरजग्गा खरिद बिक्री व्यवसाय, खुद्रा व्यापार, आन्तरिक कुरियर, स्थानीय क्याटरिङ, मनिचेन्जर र रेमिटेन्स सेवा,
आमसञ्चार माध्यमहरू तथा राष्ट्र भाषाको चलचित्र व्यवसाय,
व्यवस्थापन, लेखा, इन्जिनियरिङ, कानुनी परामर्श सेवा तथा भाषा, सङ्गीत, कम्प्युटरसम्बन्धी तालिम,
एकाउन्न प्रतिशतभन्दा बढी विदेशी लगानी हुने परामर्श सेवाहरू।
विकासशील मुलुकको तीव्र आर्थिक विकासको लागि विदेशी लगानी आवश्यक मानिन्छ। सबै क्षेत्रमा विदेशी लगानी खुला गर्दा बहुराष्ट्रिय निगमले घरेलु उद्योग व्यवसाय तथा रैथाने ज्ञान, सीप र मौलिकतालाई विस्थापित गर्ने जोखिम पनि रहन्छ । तसर्थ, विदेशी लगानीसम्बन्धी नीतिहरू तर्जुमा गर्दा यस्ता पक्षहरूमा उचित तालमेल मिलाई मुलुक र नागरिकको हित अभिवृद्धि गर्नुपर्छ ।
२. नेपालमा जलसम्पदाको महत्व के कस्तो रहेको पाउनुहुन्छ ? उल्लेख गर्नुहोस्।
नेपालका विभिन्न भूभागमा रहेका नदीनाला, तालतलैया, तातोपानी कुण्ड, पानीका मुहान, कुवा, पोखरीलगायतका प्रकृतिप्रदत्त स्रोतहरू नै नेपालका जलसम्पदा हुन्। नेपालको संविधानले जलस्रोतको बहुउपयोगी विकास गर्ने नीति लिएसँगै जलसम्पदाको बहुआयामिक महìव उजागर भएको छ । नेपालको जलसम्पदाको महìवलाई आर्थिक, सामाजिक, पर्यावरणीय एवं भौगोलिक रूपमा वर्गीकरण गरी निम्नानुसार उल्लेख गर्न सकिन्छ ः
क) आर्थिक महत्व ः
जलविद्युत् उत्पादन र वितरणबाट ऊर्जाको माग पूर्ति भई व्यापार घाटा न्यूनीकरणमा सहयोग पुग्ने,
सिँचाइ परियोजना निर्माण गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने,
मत्स्यपालनबाट आय आर्जन गर्न सकिने,
खानेपानी उद्योग स्थापना गरी स्वच्छ पिउने पानी निर्यात गर्न सकिने,
मनोरञ्जनात्मक र साहसिक पर्यटन जस्तै ¥याफ्टिङ, बोटिङ, बञ्जी जम्पिङमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिने,
मुलुकको पूर्वाधार विकासका लागि चाहिने निर्माण सामग्रीको प्राप्ति र निरन्तर आपूर्ति हुने,
उल्लेखित कार्यबाट सरकारले रोयल्टी र कर सङ्कलन गरी आय वृद्धि गर्न सक्ने,
ख) सामाजिक महत्व ः
मानव र अन्य जीवजन्तुको जीवनका लागि आवश्यक खानेपानीको उपलब्धता हुने,
जलयातायातमार्फत नागरिकको दैनिकीलाई सहज तुल्याउन सकिने,
विभिन्न आदिवासी जनजातिका धार्मिक एवं सांस्कृतिक आस्था र विश्वासले निरन्तरता पाउने,
मानव सभ्यताको ऐतिहासिक पक्ष नदी प्रणालीसँग गाँसिएर आउने।
ग) पर्यावरणीय महत्व ः
जैविक विविधताको संरक्षण हुने,
पर्यावरणीय सन्तुलन कायम हुने,
वातावरणीय तापक्रममा हुने सक्ने चरम उतारचढावलाई नियन्त्रण गर्न सहयोग पुग्ने,
जलचक्र सञ्चालनमा सहयोग पुग्ने।
घ) भौगोलिक महत्व ः
नदी, ताल, कुण्ड आदिका माध्यमबाट कुनै भूभागको पहिचान एवं चिनारी हुने,
प्रदेश तथा स्थानीय तहहरूको भौगोलिक सीमानाको रूपमा नदी तथा खोलालाई आधार मानिने,
अन्तर्राष्ट्रिय सीमानाको रूपमा समेत नदीलाई आधार मानिने।
– जलसम्पदाको प्रचुरताको दृष्टिले नेपाल विश्वमै अग्रपङ्क्तिमा आउँछ। यसको बहुआयामिक महìवलाई बुझेर संवैधानिक निर्देशनअनुसार जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिँदै जलस्रोतको बहुउपयोगी विकास गर्न‘ अत्यावश्यक देखिएको छ ।