आर्थिक वर्ष २०७९/०८० को जेठ मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) को दर ३.३४ प्रतिशत पुगेको छ । जुन अघिल्लो जेठ महिनामा ३.१४ प्रतिशत नै कायम थियो ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले जेठ मसान्तसम्ममा कुल ४८ खर्ब ५८ अर्ब कर्जा लगानी गरेका छन् । सो मध्ये १ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी उठ्न नसकेको हो । जसले गर्दा बैंकहरूको नाफामा समेत धक्का लाग्न पुगेको छ ।समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ६९ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा खराब कर्जा (एनपीएल) व्यवस्थापनका लागि १ खर्ब ६२ अर्ब ९८ करोड रुपैयाँ बराबरको तरलता ‘प्रोभिजनिङ’ गर्नुपरेको छ ।यो वित्तीय व्यवस्थापन अघिल्लो महिनाको तुलनामा ०.१७ प्रतिशतले घटेको हो । जेठ महिनाको खराब कर्जाको सुरक्षणका लागि बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ नाफाबाट छुट्याएका थिए ।