सुपर तमोर जलविद्युत आयोजना निर्माणका लागि करिब १९ अर्ब रुपैयाँ बराबरको वित्तीय व्यवस्थापन जुटेको छ।
१६६ मेगावाट क्षमता रहेको परियोजनाका लागि ग्लोबल आइएमई बैंकको अगुवाइमा बैंकहरूको संयुक्त कन्सोर्टियममार्फत लगानी सम्झौता सम्पन्न पनि भएको हो । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपचन्द्र रेग्मी, क्रिष्टल पावरका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्य तथा सहभागी बैंकका प्रतिनिधिहरूले हस्ताक्षर गरेका हुन्। जम्मा कुल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा बैंक कन्सोर्टियमले करिब ७५ प्रतिशत लगानी गर्नेछ साथै १९ अर्ब रुपैयाँ वित्तीय स्रोत सुनिश्चितता पनि थप गरिएको छ । बाँकी २५ % रकम प्रवर्द्धक कम्पनी तथा अन्य निजी लगानीकर्ताबाट जुटाइने व्यवस्था गरिएको छ। यसैगरी लगानी संरचना अनुसार ग्लोबल आइएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ तथा नेपाल एसबिआई बैंकले १ अर्ब रुपैयाँ योगदान गर्ने जनाइएको छ।