विदेशमा रहेका नेपाली कामदारले अनौपचारिक माध्यमबाट रकम पठाउने क्रम बढ्नुले पछिल्ला महिनाहरूमा नेपाल भित्रिने रेमिट्यान्समा कमी आएको हुनसक्ने विज्ञहरूको धारणा छ।
कोभिड-१९ महामारीको समयमा रेमिट्यान्सकै कारण देशको तरलता र वैदेशिक मुद्रामा कमी आउन नदिए पनि पछिल्लो समय विप्रेषण वृद्धिदरमा कमी आएको थापा बताउँछन्।
“त्यति ठूलो स्वास्थ्य सङ्कटको बेलामा विदेशमा रहेका नेपालीहरूले रकम पठाएर पुर्याएको योगदान उल्लेख्य छ। तर अहिले रेमिट्यान्सको वृद्धिदर घट्नुले पनि विदेशी मुद्रामा चाप बढाएको छ,” उनले भने।
यस अवस्थालाई सुधार गर्न नेपालीहरूले बचत बढाएर ब्याङ्किङ वा अन्य औपचारिक माध्यममार्फत आफ्नो कमाइ पठाउन सक्ने बताए।
“कसैले हुन्डीको सहयोग लिइरहेको छ भने त्यसको प्रयोग बन्द गरी आधिकारिक माध्यमबाट रकम पठाउनु पनि हालको स्थितिमा देशका लागि ठूलो सहयोग ठहर्छ,” उनले सुझाए।
हुन्डीको प्रयोग गर्दा देशमा नेपाली रुपैयाँ भित्रन्छ। सो कार्यबाट विदेशी मुद्रा भित्रने क्रम प्रभावित हुने र अपचलन बढ्ने सिवाकोटीको तर्क छ।
अधिकांश वस्तु तथा सेवा खरिद र आयात गरेर धानिएको देशमा रेमिट्यान्स नआउनुले अभाव निम्त्याउने र रेमिट्यान्स नआउनुको प्रमुख कारण गैरकानुनी माध्यमको प्रयोग हुनु तर्फ उनी सङ्केत गर्छन्।
“हुन्डी गैरकानुनी हो। त्यसको प्रयोग अपराध त हो नै साथै कानुनी माध्यमबाट पैसा नपठाउँदा देशमा बस्नेहरूले आयात गरेर खान नसक्ने अवस्था आउन सक्छ।”
त्यसैले मनी ट्रान्सफर वा ब्याङ्कमार्फत नेपालमा पैसा पठाए अहिलेको अवस्थामा देशलाई सहयोग हुने उनी बताउँछन्।
उल्लेखित माध्यमबाट पठाएको रकम राष्ट्र ब्याङ्कलाई दिइन्छ। र राष्ट्र ब्याङ्कले सटही गरी विदेश जानेहरूलाई वा विदेशबाट सामान किनेर ल्याउनेहरूलाई उपलब्ध गराउँछ।