नलगाड हाइड्रो पावर कम्पनी लिमिटेडले ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागिएको हो ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन स्वीकृत अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । वन तथा वातावरण मन्त्रालयले प्रतिवेदनमा स्वीकृति दिनुअघि सरोकारवालासँग लिखित राय/सुझाव माग गरेको छ ।
नलगाड गाउँपालिका–७ दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको बाँधस्थल प्रस्ताव गरिएको छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुने कम्पनीले जानकारी दिएको छ ।बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किलोमिटर लामो मुख्य सुरुङ र २ देखि ३ किलोमिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । ५०० मिटर लम्बाई र २४८ मिटर अग्लो बाँध निर्माण हुने प्रतिवेदनमा उल्लेख छ ।जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ । आयोजनामा ४ वटा टर्वाइन हुनेछ । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट वार्षिक १२८०.४ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ र सुख्खायाममा ६०४.९ गिगावाट र वर्षायाममा ६७५.५ गिगावाट घन्टा विद्युत उत्पादन हुने प्रतिवेदनले देखाएको छ ।उत्पादित विद्युत ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर सबस्टेसनमा जोडिने छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । प्रस्तावित आयोजना निर्माण सम्पन्न गर्न १ खर्ब २१ अर्ब ९१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको काम ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।