सरकारले चालु आर्थिक वर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण

सरकारले चालु आर्थिक वर्षको लागि कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
निर्धारण गरिएको मूल्य शुक्रबारदेखि कार्यान्वयनमा ल्याइएको हो । सरकारले निर्धारण गरेको यो मूल्यमा किसानबाट उद्योगी व्यवसायीले र सर्वसाधारणले कफी किन्न पाउनेछन् । सरकारले वर्षेनी मंसिर १ गते कफीको न्यूनतम समर्थन मूल्य तोकेर राष्ट्रिय कफी दिवस मनाउँदै आएको छ ।


राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चालु आर्थिक वर्षको लागि तीन प्रकारको कफीको न्यूनतम मूल्य निर्धारण गरिएको हो । जसअनुसार ए ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो १ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
यस्तै बी ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यसैगरी पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५ सय रुपैयाँ र बी ग्रेडको कफीलाई ४ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यस्तै ड्राई चेरी कफीतर्फ ए ग्रेडको कफीलाई प्रतिकिलो २ सय र बी ग्रेडको कफीलार्य १ सय ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

८ सय मिटरभन्दा माथिको उचाईमा प्राङ्गारिक प्रणालीअनुसार उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने र केलाएर छानिएको चेरीलाई ए ग्रेडको फ्रेस चेरी कफी भनिएको हो ।

यस्तै ग्रेड ए गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफीलाई पार्चमेन्ट ए ग्रेडको कफी भनिन्छ ।

त्यसैगरी ग्रेड ए फ्रेस चेरीबाट उत्पादन भएको ड्राई चेरीलाई ए ग्रेडको ड्राई चेरी ए ग्रेडको कफी भनिएको हो । नेपालमा उत्पादन हुने कफी विश्वको उत्कृष्ट कफीमध्ये एक मानिएको छ ।

प्रतिक्रिया दिनुहोस