आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे विकास साझेदारसँग छलफल भएको छ । आज अर्थमन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी लगानी सम्मेलनका लागि नेपालले गर्नुपर्ने तयारीका सम्बन्धमा द्विपक्षीय र बहुपक्षीय दातृ निकायसँग सुझाव लिइएको हो ।
लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल भएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।
“लगानीकर्ताले नेपालमा लगानीको वातावरणबारे के सोच्छन् र हामीले के कुरामा सुधार गर्नुपर्छ भन्नेमा लागिरहेका छौँ”, अर्थमन्त्री महतले भने, “अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भनेर लगानीकर्ताले सोध्ने प्रश्नको जवाफ हामीसँग छ । नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो ।”
नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो । साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने भन्दै अर्थमन्त्री महतले नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेका जानकारी दिए । लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर हुँदै काम गरिरहेको उनको तर्क रहेको छ।