सेयरबजारमा ३३ अंकको वृद्धि, कारोबार रकम साढे ७ अर्ब नजिक
काठमाडौं । साताको कारोबारका क्रममा बुधबार नेपालको सेयरबजारमा सकारात्मक सुधार देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले उकालो लाग्दै २६६४.०६ विन्दुमा पुगेको छ।
बुधबार बजारमा ३४८ कम्पनीका १ करोड ९३ लाख ९४ हजार २५९ कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरको कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रहेको छ।
यस दिन कारोबार भएका समूहहरूमध्ये व्यापार समूहबाहेक अन्य सबै समूहको परिसूचक बढेको छ। समूहगत प्रदर्शनमा जलविद्युत् क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। उक्त समूहको परिसूचक २.०६ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरी जीवन बीमा समूह १.५९ प्रतिशत, फाइनान्स समूह १.५५ प्रतिशत र लगानी समूह १.५२ प्रतिशतले बढेका छन्। बैंकिङ समूहमा १.३६ प्रतिशत तथा होटल तथा पर्यटन समूहमा १.३४ प्रतिशतको वृद्धि देखिएको छ।
विकास बैंक समूह १.११ प्रतिशतले उकालो लाग्दा माइक्रोफाइनान्स समूह ०.८७ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन्। उत्पादन तथा प्रशोधन समूहमा ०.६६ प्रतिशत, म्युचुअल फण्ड समूहमा ०.५१ प्रतिशत तथा निर्जीवन बीमा समूहमा ०.४४ प्रतिशतको वृद्धि भएको छ।
यता व्यापार समूह भने बजारको समग्र प्रवृत्तिविपरीत ०.४४ प्रतिशतले घटेको छ।