ग्लोबल आइएमई बैंक भयो नेपालको सबैभन्दा ठूलो बाणिज्य बैंक

२१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेर ग्लोबल आइएमई बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। 
चुक्ता पुँजीमा नेपालकै पहिलो बैंक बनेको ग्लोबल आइएमई निक्षेप, कर्जा, शाखा सञ्जाललगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बनेको हो।
विभिन्न २१ बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गरेको ग्लोबल आइएमई बैंकको हाल चुक्ता पुँजी ३५ अर्ब ७७ करोड छ। बैंकको कात्तिकसम्म ४ खर्ब ५३ अर्ब निक्षेप संकलन छ र ३ खर्ब ७५ अर्ब रूपैयाँ कर्जा लगानी छ।  
सन् २००७ मा ग्लोबल बैंक लिमिटेडको रुपमा स्थापित बैंकले सन् २०१२ मा ‘ग’ वर्गको आइएमई फाइनान्सलाई प्राप्ति गरेपछि ‘ग्लोबल आइएमई बैंक’ बनेको थियो। 
वाणिज्य बैंकहरूमा यसले सन् २०१४ मा कमर्स एण्ड ट्रष्ट बैंक, २०१९ मा जनता बैंक र २०२३ जनवरीमा बैंक अफ काठमाण्डूसँग मर्जर गरेको छ। 
सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ। 
हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालयमार्फत् समेत बैंकिङ सेवा दिदै आएको  छ।

प्रतिक्रिया दिनुहोस