सेयर बजार कारोबारमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) देखाएको आकडा अनुसार १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा कायम भएको छ । यस भन्दा अगाडिका तीन कारोबार दिनमा पनि नेप्से लगातार घटेको आकडाले जनाएको छ । अघिल्लो दिन अर्थात हिजो मंगलबार ०.५३ अंकले घटेको नेप्से सोमबार ४.२८ अंक र आइतबार २६.५१ अंकले घटेको थियो । यस्तै शेयर बजार कारोबारमा बुधबार नेप्सेमा कुल ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिजो मंगलबार भने नेप्सेमा ४ अर्ब ४२ करोड माथिको कारोबार भएको थियो । बुधबार कारोबारमा आएकामध्ये ७४ कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा फाइनान्स समूहमा सर्वाधिक अर्थात् १.५९ % ले सुधार देखिएको छ ।