माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउन विश्व बैंक सकारात्मक भएको छ। मोरक्कोमा जारी विश्व बैंकको वार्षिक बैठकका क्रममा नेपाली टोलीसँगको वार्तामा सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउन विश्व बैंक सकारात्मक भएको हो।
रणनीतिक महत्व रहेको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसँग छलफल गर्ने भएको छ।
त्यसैगरी सहुलियतपूर्ण ॠण उपलब्ध गराउने अन्तर्राष्ट्रिय विकास सहायता (आइडीए)को २१औँ रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ। विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्ततर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा आज अर्थमन्त्री डा. महतले उक्त प्रस्ताव राखेका थिए।