भगवती हाइड्रोपावरको आईपीओ निष्कासन सुरु

भगवती हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मंगलबारदेखि आईपीओ निष्कासन सुरु गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि जारी गरेको हो । कम्पनीले सर्वसाधारणका लागि सात लाख १२ हजार २२० कित्ता सेयर प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गरेको हो ।

आवेदन भदौ ८ गतेसम्म दिन सकिनेछ । तर, सो अवधिसम्म मागअनुसार आवेदन नपरेमा भदौ १९ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम पाँच हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १५ प्रतिशत अर्थात् आठ करोड ५८ लाख ९७ रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँ १६ रुपैयाँ थप गरी आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस