सेयर कारोबार ७ अर्ब नाघेको छ । कारोबार करिब १ वर्षयताकै उच्च हो । बुधबार नेप्से सूचक ३५.३९ विन्दले बढेर २१४१.८७ अंकमा आइपुगेको छ । सूचकसँगै कारोबारमा रौनकता देखिएको हो । समग्रमा हेर्दा बढ्दोक्रममा रहेको नेप्से सूचकलाई कारोबार रकमले पनि साथ दिंदै गएको देखिन्छ । १५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ ।
उत्पादनमूलक र लगानी समूहमा विशेष तेजी आएको छ । २ वटा समूहबाहेक बाँकी सबै समूहमा वृद्धि देखिएको छ । बजारमा लगानीकर्ताको मनोबल उच्च देखिएको छ । कतिपय कम्पनीले लगानीकर्तालाई राम्रो मुनाफा दिइसकेको देखिन्छ । बजार बढेको चर्चा चल्न थालेपछि नयाँ लगानीकर्ताको पनि उत्सुकता वृद्धि भएको ब्रोकरहरु बताउँछन् ।
आइपीओ भरेको सेयरले राम्रो मुनाफा दिएपछि अनि दोस्रो बजारमा सक्रिय रहेका आफन्त र साथीभाईले बजार वृद्धि र मुनाफा आर्जन गरेको विषयमा गफ गर्न थालेपछि नयाँ व्यक्तिहरु पनि दोस्रो बजारमा लगानी गर्न उत्सुक देखिएका हुन् ।
केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामार्फत तुलनात्मकरुपमा केही लचिलो नीति लिएपछि सेयर बजारमा नयाँ माहोल देखिएको हो । सेयर धितो कर्जामा जोखिमभार घटाइनु अनि ब्याजदर घटाउने नीति लिइनु नै सेयर बजारका लागि सकारात्मक पक्ष साबित भएका छन् ।
अहिले बैंकहरुले धमाधम ब्याजदर घटाइरहेका छन् । तथापि, अझै कर्जा लगानी द्रुत गतिमा हुन सकेको छैन । यसकारण प्रणालीमा खरबौं रुपैयाँ नगद थुप्रिएको छ । यही सहज नगदकै कारण अहिले सेयर बजारमा सकारात्मक प्रभाव देखिएको हो ।